प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
काठमाडाैं | चैत २२, २०७९
काठमाडौं: म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।
रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन्।
खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन्।
बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए।
चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ। चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने विश्वासले जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजन आएका थिए।
‘‘आपत्विपत्मा मण्डली र भुमे देवतलाई गुहार माग्र्छौँ, मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरुप पूजा गर्ने चलन छ,’ अध्यक्ष पाइजाले भने।
चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए। तीन सय बढीले पन्च्योल नै चढाएका छन्। भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ। मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन्।
मन्डली थानको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए। यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने चलन छ।
गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन छ।
छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर खाने तथा भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एकअर्कालाई दलेर रमाइलो गर्ने चलन छ।
भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायालेलगायत गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने चलन छ।
यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेला सुरु भएको छ। यता रघुगङ्गा–१ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भुमे पूजा गरिएको छ। भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्कने गर्छन्।
यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने चलन छ। प्रकृृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेका पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रधानाध्यापक दुतबहादुर गर्वुजाले बताए।
भूमे पूजामा मौलिक पुख्र्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन्।
मगर समुदायको बाक्लो बसोबास रहेको रघुगङ्गा–४ दग्नाम र दर्मिजामा भने जेठको उजेली मङ्गलबार भुमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने चलन छ। भुमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीमा रहेका अन्य देवी–देवताको समेत पूजा गर्ने चलन छ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

